लिङ्देन र धवललाई ज्ञानेन्द्रले भने – ‘हाम्रा नेताका खुरापाती राजनीतिले भगवान पनि वाक्क भइसकें’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको पछिल्लो गतिविधिप्रति असन्तृष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।

लिङ्देन र राणाको आरोप–प्रत्यारोपबारे कडा असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको विवाद र शक्ति संघर्षले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको उनको भनाइ छ । शाहीले अहिलेको समय आरोप–प्रत्यारोप गरेर टुट्ने र फुट्ने नभई जुट्ने समय भएको उल्लेख गरेका छन् ।

उनले एक नेताले नेतृत्व छोड्न नचाहेको र अर्को नेताले चुनाव नलडी नेतृत्व लिन खोजेको संकेत गर्दै पदका लागि भइरहेको प्रतिस्पर्धामाथि प्रश्न उठाएका छन् । नेतृत्व भनेको पदमा टाँसिएर बस्ने नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता भएको पनि उनले बताएका छन् ।

राप्रपाभित्र पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको सम्बन्ध बिग्रिएको छ । महामन्त्री राणा राप्रपाबाट छुट्टिएर अर्को पार्टी गठनको तयारीमा लागेका छन् । मलमासपछि नयाँ पार्टी गठन गर्ने तयारी गरेका राणालाई लिङ्देनले भने पार्टीमा फर्किन आह्वान गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *