इन्टरनेट सेवा प्रदायक क्लासिक टेकविरुद्ध मुद्दा दायर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरिएको छ। भक्तपुरको ठिमी निवासी शिव प्रकाशले कम्पनीले ४१ दिनसम्म इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि मर्मत नगरेको, पटक–पटक गुनासो गर्दा बेवास्ता गरेको तथा मानसिक सास्ती दिएको आरोप लगाउँदै मंगलबार फिरादपत्र दर्ता गरेका हुन्।

फिरादपत्रअनुसार अप्रिल २२, २०२६ देखि लगातार सेवा प्रभावित भए पनि कम्पनीले समयमै समस्या समाधान नगरेको आरोप छ। सेवामा आएको अवरोधका कारण आफ्नो दैनिक अनुसन्धान, लेखन तथा सूचनामा पहुँचसम्बन्धी कार्य प्रभावित भएको भन्दै निवेदकले संविधानले सुनिश्चित गरेको सूचनाको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, अभिव्यक्ति स्वतन्त्रता तथा उपभोक्ताको हक उल्लंघन भएको जिकिर गरेका छन्।

निवेदकका अनुसार कम्पनीले कहिले बिजुलीको पोल सारिएको त कहिले अन्य कम्पनीले तार काटेको भन्दै विभिन्न बहाना बनाएको थियो। गुनासोका क्रममा कर्मचारीहरूले फोन होल्डमा राखेर काट्ने, ह्वाट्सएपमार्फत गलत सूचना दिने तथा समस्याप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप पनि लगाइएको छ।

फिरादपत्रमा सन्तोष पौडेलको नाममा एक वर्षका लागि इन्टरनेट सेवा जडान तथा नवीकरणबापत रकम भुक्तानी गरिए पनि सेवा नियमित रूपमा उपलब्ध नगराइएको उल्लेख छ। सेवा अवरुद्ध भएपछि मोबाइल डेटा प्रयोग गर्नुपरेको अतिरिक्त खर्च र मानसिक तनावको क्षतिपूर्ति स्वरूप १० हजार रुपैयाँ माग्दा समेत कम्पनीले अस्वीकार गरेको दाबी गरिएको छ।

यस विषयमा सूचना तथा सञ्चारमन्त्री, हेलो सरकार, नेपाल दूरसञ्चार प्राधिकरण तथा जिल्ला प्रशासन कार्यालयसम्म गुनासो गर्दा पनि प्रभावकारी सुनुवाइ नभएको निवेदकको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणको रोहबरमा भएको छलफलमा समेत समाधान ननिस्किएपछि अन्ततः उपभोक्ता अदालतको शरण लिनुपरेको उनले बताएका छन्।

फिरादपत्रमा कम्पनीका केही कर्मचारीहरूले व्यक्तिगत क्यूआर कोडमार्फत भुक्तानी लिएको आरोपसमेत समावेश गरिएको छ। यस्तै प्रकृतिको समस्या अन्य सेवाग्राहीले पनि भोग्नुपरेको उल्लेख गर्दै निवेदकले क्लासिक टेकको सेवा प्रवाह र उपभोक्ताप्रतिको व्यवहारमाथि अदालतबाट न्यायिक परीक्षण हुनुपर्ने माग गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *