पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।

विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको कर छुट तथा भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

​विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग सोमबार धरौटी माग गरेको हो।

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्कीमाथि पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको सम्झौताबमोजिम ठेकेदार कम्पनीले बुझाउनुपर्ने कर छुट दिएको अभियोग लगाएको थियो।

अख्तियारले सम्झौताविपरीत कर छुट दिँदा राज्यलाई ३ अर्ब ६२ करोड ६ लाख २२ हजार १६० रुपैयाँ हानि नोक्सानी पुर्‍याएको दाबी गरेको छ।

सोमबार भएको ​बयानमा कार्कीले आफूले कुनै नयाँ प्रावधान नराखेको, नेपाल र चीनबीच भएको सहुलियतपूर्ण ऋण सम्झौताको व्यवस्था कार्यान्वयन मात्र गरेको र राज्यलाई हानी पुर्‍याउने नियत नरहेको भन्दै आरोपको पूर्ण अस्वीकार गरेका थिए। कार्की धरौटी बुझाएर आज रिहा हुने प्रक्रियामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *