काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा ‘भारतको जमिन कब्जा गरेको’ भनेर दिएको अभिव्यक्तिलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘गम्भीर राष्ट्रघात’ भनेको छ।
सोमबार नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछ।’
नेकपाले सीमा क्षेत्रमा हुने अतिक्रमणलाई जमिन कब्जा गरेको रुपमा भन्न नहुने जनाएको छ। ‘कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।’
यसलाई नेकपाले संविधानको मर्मविपरीतको कार्य भनेको छ। ‘देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ। नेकपाले भनेको छ, ‘अतः उक्त भनाइ तत्काल सच्याउन, संसद्को रेकर्डवाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ।’







