युवाहरूलाई स्वदेशमै महिनाको १ लाख कमाउने वातावरण बनाएका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट युवा पुस्तालाई लक्षित गर्दै तयार गरिएको  दाबी गरेका छन्। उनले भर्खरै अध्ययन पूरा गरेका युवाले पनि स्वदेशमै बसेर महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने वातावरण निर्माण गरिएको भन्दै सरकारले कर तथा लगानीसम्बन्धी नीतिमार्फत युवालाई नेपालमै अवसर खोज्न प्रेरित गर्ने प्रयास गरेको बताए।

सोमबार नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले १० लाख रुपैयाँसम्मको आयकर छुट, उच्च आय वर्गमा लाग्दै आएको करदरमा कटौती तथा लगानी प्रवर्द्धनका व्यवस्थाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र युवामा आशा जगाउने विश्वास व्यक्त गरे।

‘भर्खरै कलेज सक्दै गरेको युवाले पनि ओहो नेपालमै बसेर महिनाको करिब एक लाख  कमाउँदा पनि ट्याक्सफ्री इन्कम लिएर आई क्यान रिमेन इन नेपाल विथ डिग्निटी भन्ने वातावरण बनाउने काम हामीले गरेका हौँ,’ उनले भने ।

१० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदमको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले यसबाट बजारमा मुद्रा प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । साथै उच्च आय वर्गमा लाग्दै आएको ३९ प्रतिशत करलाई १० प्रतिशत बिन्दुले घटाएर वचतलाई लगानीमा रूपान्तरण गर्ने नीति लिइएको उनले प्रस्ट पारे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *