काठमाडौं । सरकारले पूँजी बजारका लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सूचीकृत धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभकरलाई अब ‘अन्तिम कर’ (Final Tax) का रूपमा मान्यता दिने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यो व्यवस्था लागू हुने बताएका हुन्।
नयाँ व्यवस्थासँगै सेयर कारोबारबाट नाफा कमाएका लगानीकर्ताले तिरेको पूँजीगत लाभकरलाई पुनः आय विवरणमा समायोजन गर्नुपर्ने वा थप कर गणनामा राख्नुपर्ने अवस्था अन्त्य हुने भएको छ।
हाल व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी सेयर होल्ड गरेमा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गरेमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन्। अब यही करलाई अन्तिम करको रूपमा स्वीकार गरिने भएपछि कर प्रणालीमा रहेको दोहोरो व्याख्या र अन्योल हट्ने सरकारको दाबी छ।
लगानीकर्ताका विभिन्न संगठनहरूले लामो समयदेखि उठाउँदै आएको यो माग पूरा भएपछि पूँजी बजारमा पारदर्शिता, विश्वास र लगानी आकर्षण बढ्ने अपेक्षा गरिएको छ।






