काठमाडौँ । सरकारले आफ्नै आर्थिक तथा भौगोलिक सम्भावनामा आधारित क्षेत्रीय विकासलाई प्राथमिकता दिँदै ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा सार्वजनिक लगानी विस्तार गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रामीण तथा सहरोन्मुख क्षेत्रको समग्र विकासका लागि लगानी वृद्धि गरिने जानकारी दिए। यस्ता क्षेत्रलाई आर्थिक वृद्धि केन्द्र (ग्रोथ पोल) तथा विकास केन्द्र (ग्रोथ हब) का रूपमा विकास गर्न नीतिगत तथा भौतिक पूर्वाधारसम्बन्धी एकीकृत योजना तर्जुमा गरिने उनले बताए।
बजेटअनुसार सुनकोसी-मरिण डाइभर्सन आयोजनाबाट सिँचाइ सुविधा पुग्ने करिब एक लाख २२ हजार हेक्टर कमान क्षेत्रलाई आधार बनाएर कृषि तथा औद्योगिक गतिविधिको विस्तार गरिनेछ। यसका लागि मध्यपहाडी लोकमार्ग तथा पूर्व-पश्चिम राजमार्गसँग सम्बन्धित बाँकी पूर्वाधार निर्माण कार्य सम्पन्न गरी कृषि र उद्योग क्षेत्रलाई जोड्ने विकास करिडोर निर्माण गर्ने लक्ष्य लिइएको छ।
सरकारले उत्पादन, प्रशोधन, बजार पहुँच तथा क्षेत्रीय आर्थिक गतिविधिलाई एकीकृत गर्दै कृषि र उद्योगबीचको अन्तरसम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम अघि सारेको जनाएको छ।






