आज गणतन्त्र दिवस: टुँडीखेलमा हुने समारोहमा बालेन नजाने, राष्ट्रपतिबाट सम्बोधन हुने

काठमाडौं । आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते  राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन अर्थात् गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।

विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।

गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहँदै आएको छ । तर, यसपटक प्रधानमन्त्री बालेन्द्र साह भने गणतन्त्रको समारोहमा उपस्थित नहुने भएका छन् ।

दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ । गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा आज पहिलो पटक मुल समारोहणलाई प्रधानमन्त्रीले सम्बोधन नगरेर राष्ट्रपतिले सम्बोधन गर्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *