सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जले आगामी जेठ २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गर्ने भएको छ ।
निकुञ्जले एक महिनाका लागि संकलन अनुमति दिने जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ देखि असार २५ गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउनेछन् ।
यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी तथा विभिन्न सेक्टर कार्यालयमार्फत पुर्जी वितरण गरिनेछ ।
संकलकलाई प्राथमिक उपचार सामग्री, औषधि, ग्यास वा स्टोभ, त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको छ ।
तर विस्फोटक पदार्थ, खुकुरी, चक्कु, पासो, भाला, गुलेली, ध्वनि उपकरणलगायत सामग्री लैजान प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ ।
मकालु, भोटखोला, सिलिचोङ र सोलुखुम्बुको महाकुलुङ क्षेत्रका उच्च हिमाली भेगमा यार्सागुम्बा पाइने गरेको छ ।
स्थानीयवासीका लागि यार्सागुम्बा मुख्य आम्दानीको स्रोत बनेको छ । संकलनबाट प्राप्त आम्दानीले घरखर्च र बालबालिकाको शिक्षामा सहयोग पुग्ने गरेको स्थानीयको भनाइ छ ।
निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि पाँच सय, सङ्खुवासभा र सोलुखुम्बुका अन्य स्थानीयका लागि दुई हजार तथा जिल्ला बाहिरकाका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।
निकुञ्जका अनुसार यार्सागुम्बाबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदै आएको छ ।
यहाँ संकलन हुने यार्सागुम्बा चीनको तिब्बत र काठमाडौंसम्म निकासी हुने गरेको छ ।






