काठमाडौं । मुस्लिम धर्मावलम्बीले दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइरहेका छन् ।
पर्वका अवसरमा देशभरका मस्जिद र इदगाहमा सामूहिक नमाज अदा गरिएको छ ।
रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर इदमा बिहान स्नान गरी मस्जिद वा इदगाहमा नमाज पढ्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ ।
काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।
मुस्लिम धार्मिक मान्यताअनुसार अल्लाहको आदेशपछि इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइँदै आएको हो ।
अन्तिम समयमा अल्लाह प्रसन्न भई मानवको सट्टा दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ । त्यसयता कुर्बानी दिने परम्परा चलिआएको मुस्लिम धर्मगुरुको भनाइ छ ।
बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले जायज मानिएका जनावरको कुर्बानी दिने गर्छन् ।
कुर्बानीको मासु तीन भागमा बाँडेर गरिब तथा विपन्न परिवार, आफन्त र आफ्ना लागि छुट्याउने धार्मिक प्रचलन रहेको छ ।
मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने परम्परा छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।






