काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन आग्रह गर्न पुगेका सभामुख डोलप्रसाद अर्याल रित्तो हात फर्किएका छन्।
संसद नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्तामा संसदमा प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै विपक्षी दलहरूले बुधबार प्रतिनिधिसभा बैठक अवरोध गरेका थिए। त्यसपछि सदनको अवस्था जानकारी गराउँदै प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन आग्रह गर्न सभामुख अर्याल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्ष पुगेका थिए।
तर प्रधानमन्त्री शाहले आउन अटेर गरेपछि सभामुख फर्किएको संसद सचिवालय स्रोतले जनाएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री लगातार संसद छल्दै आएको आरोप लगाएका छन्।
नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ दिने क्रममा समेत प्रधानमन्त्री अनुपस्थित भएपछि सरकारप्रति असन्तुष्टि चर्किएको हो।
नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न पाउने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याइने र १५ जना सांसदले प्रश्न राख्न पाउने प्रावधान छ।
बुधबार प्रधानमन्त्रीको अनुपस्थितिमै कानुनमन्त्री सोविता गौतम ले विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालयसँग सम्बन्धित प्रस्ताव पेश गर्न समय पाएपछि विपक्षी दलहरू एमाले, नेकपा, श्रम संस्कृत र राप्रपाले कडा विरोध जनाएका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रक्रिया टुंगो नलागेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्।






