एफएनसीसीआईका अध्यक्ष अन्जनको पहिलो निर्णयमै अदालतको ब्रेक, निर्वाचन रोक्न आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अन्जन श्रेष्ठले गरेको पहिलो निर्णयमै उच्च अदालत पाटनले रोक लगाएको छ। अदालतले आगामी जेठ ८ गते तय गरिएको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन नगरी सदस्य मनोनयन प्रक्रिया अघि बढाएको भन्दै महासंघका पूर्वउपाध्यक्ष किशोरकुमार प्रधानसहितले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। निवेदकका तर्फबाट अधिवक्ता लेखनाथ पौडेलले बहस गरेका थिए।

अदालतले निवेदनमाथि थप सुनुवाइ आवश्यक देखिएको भन्दै ‘किन आदेश जारी हुन नपर्ने हो ?’ भन्ने आधार र प्रमाणसहित जवाफ दिन विपक्षीलाई निर्देशन दिएको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै जेठ ७ गतेका लागि पेसी तोकेको छ।

त्यस अवधिसम्म महासंघको जेठ १ गतेको पत्राचार तथा जेठ ८ गतेका लागि तय गरिएको बैठक यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ। उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी उक्त आदेश कार्यान्वयनका लागि अदालत प्रशासनलाई आवश्यक जानकारी गराउन पनि निर्देशन दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *