काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा विपक्षी दलहरूको प्रश्नको जवाफ दिने क्रममा अहंकारपूर्ण शैलीमा प्रस्तुत भएका छन्।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले विपक्षी दलहरूको प्रश्नमा आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउन अर्को चुनाव कुर्नुपर्ने टिप्पणी गरेका हुन्।
अर्थमन्त्री वाग्लेले सरकारले जनताबाट अनुमोदित विचार, भाषा र दस्तावेजकै आधारमा नीति तथा कार्यक्रम अघि बढाएको दाबी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्रलाई जनताले अनुमोदन गरिसकेको उल्लेख गर्दै अहिलेको नीति तथा कार्यक्रम तथा बजेटका सिद्धान्तहरू त्यही आधारमा ल्याइएको बताए।
विपक्षी दलहरूको आलोचनाप्रति व्यंग्य गर्दै उनले भने, ‘आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदन गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला।’
उनले जवाफ दिने क्रममा विपक्षी दलहरूको र आफूहरूको साध्य गन्तव्य एउटै भएको तर बाटो अलग भएको बताए । “हामी प्रश्नहरूलाई निषेध गर्दैनौँ । बादे बादे जायते तत्वबोध भन्नेमा विश्वास गछौँ । तर, साधन र साध्य छुट्टाउन सक्यौँ भने राम्रो हुन्छ,” डा. वाग्ले भने, “साध्य वा गन्तव्यमा तपाईं हामीबीच फरक छ जस्तो लाग्दैन । देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन पाइयोस् र आत्मसम्मानमा बस्न पाइयोस् । यो साझा गन्तव्य हो ।”
उनले त्यहाँसम्म पुग्ने बाटोका विषयमा भने फरकपन रहेको बताए । “फरक हुनुपर्छ भनेर नै रास्वपाको जन्म भएको हो,” डा. वाग्लेले भने, “तपाईंहरूको कुशासनको धेरै ठूलो मूल्य समाजले चुकाउनु नपरेको भए न जेनजी विद्रोह हुन्थ्यो, त रास्वपा नै यो रूपमा आउनुपर्ने जरुरी हुन्थ्यो ।”






