प्रभु बैंकको रेटिङमा गिरावट, ‘नेगेटिभ वाच’ कायमै; खराब कर्जा ८ प्रतिशत

काठमाडौं । प्रभु बैंक को साख मूल्यांकन (रेटिङ) घटाइएको छ । रेटिङ एजेन्सी इक्रा नेपाल ले बैंकको इस्युअर रेटिङ ‘ट्रिपल बी माइनस’बाट घटाएर ‘डबल बी प्लस’ मा झारेको हो ।

साथै, बैंकलाई ‘नेगेटिभ वाच’ अर्थात् नकारात्मक निगरानी सूचीमै राखिएको छ ।

इक्राका अनुसार बैंकको सम्पत्तिको गुणस्तर कमजोर बन्दै जानु, खराब कर्जा बढ्नु र पूँजीकोषमा दबाब पर्नु रेटिङ घट्नुका मुख्य कारण हुन् ।

बैंकद्वारा जारी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको रेटिङ पनि ‘एल ट्रिपल बी माइनस’बाट घटाएर ‘एल डबल बी प्लस’ कायम गरिएको छ ।

रिपोर्टअनुसार बैंकको खराब कर्जा (एनपीएल) एक वर्षमै उल्लेख्य रूपमा बढेको छ ।

सन् २०२५ जनवरीमा ५.०६ प्रतिशत रहेको खराब कर्जा सन् २०२६ जनवरीको मध्यसम्म आइपुग्दा ७.९४ प्रतिशत पुगेको छ ।

त्यस्तै, कुल कर्जामध्ये १३.४ प्रतिशत कर्जा ६१ देखि ९० दिनसम्म भाखा नाघेको अवस्थामा रहेको उल्लेख छ ।

बैंकको प्राथमिक पूँजीकोष अनुपात पनि घटेर ८.६८ प्रतिशतमा पुगेको छ, जुन नेपाल राष्ट्र बैंक ले तोकेको न्यूनतम सीमा ८.५ प्रतिशतको नजिक हो ।

इक्राले खराब कर्जा थप बढेमा नियामकीय सीमा कायम राख्न बैंकलाई चुनौती हुन सक्ने जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभु बैंकले १ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ४ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

सम्पत्तिमा प्रतिफल भने घटेर ०.५० प्रतिशतमा सीमित भएको छ ।

इक्राले संस्थागत सुशासनसम्बन्धी केही प्रश्न, देशको आर्थिक शिथिलता तथा मध्यपूर्वमा बढ्दो तनावका कारण रेमिट्यान्स प्रवाहमा पर्न सक्ने असरले बैंकको निक्षेप वृद्धिमा थप दबाब पर्न सक्ने औंल्याएको छ ।

यद्यपि, बैंकको शाखा सञ्जाल र तरलता अवस्था भने सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लाई प्राप्ति गरेपछि प्रभु बैंकको देशभर ३ सय १२ शाखा, ६९ एक्स्टेन्सन काउन्टर र २ सय ६० एटिएम सञ्चालनमा छन् ।

बैंकको निक्षेपमा ४.४८ प्रतिशत र कर्जामा ४.१९ प्रतिशत बजार हिस्सा रहेको इक्राले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *