काठमाडौं । इरान ले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाजहरूको आवागमन व्यवस्थापनसम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार गरेको छ ।
प्रस्तावित विधेयकमा अमेरिका र इजरायल का जहाजलाई जलमार्ग प्रवेशमा प्रतिबन्ध लगाउने तथा अन्य विदेशी जहाजबाट कर उठाउने व्यवस्था समेटिएको बताइएको छ ।
तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई सुदृढ बनाउने कदमका रूपमा व्याख्या गरेको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजी ले संसद्को अधिवेशन पुनः सुरु भएपछि उक्त प्रस्तावलाई ‘निवारक कानुन’का रूपमा अघि बढाइने बताएका छन् ।
उनका अनुसार विधेयकको मस्यौदा तयार भइसकेको छ भने विदेश मन्त्रालय, बन्दरगाह तथा समुद्री संगठनलगायत सम्बन्धित निकायसँग यसबारे छलफलसमेत भइसकेको छ ।
अजिजीले अमेरिकी सैन्य उपस्थिति र इजरायली गतिविधिलाई खाडी क्षेत्र तथा स्ट्रेट अफ हर्मुजमा अस्थिरताको मुख्य कारण भएको आरोप लगाए ।
उनले इरान सधैं जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको दाबी पनि गरे ।
इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सी का अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडपसमेत भएको थियो ।






