काठमाडौँ । उपसभामुख ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिस कार्यक्षमता र योग्यताका आधारमा भएको बताएकी छन्।
सामाजिक सञ्जालमा च्याटजीपीटीको स्क्रिनसटसहित स्टाटस सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गररेकी छन्।
उनले ‘हाम्रो मुद्दा यति वर्ष लाग्यो, उति वर्ष लाग्यो’ भन्ने जनगुनासो न्याय प्रणालीका लागि गम्भीर विषय भएको बताइन्।
उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको प्रभावमा हुने हो भने त्यसको परिणाम पनि त्यहीअनुसार देखिने टिप्पणी गरिन्।
प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको उल्लेख गर्दै उनले यस विषयमा कुनै ‘किन्तु–परन्तु’ आवश्यक नरहेको स्पष्ट पारिन्।
उनले राज्यका सबै अंग देश, जनता र राज्यको हितमा काम गर्नुपर्ने बताउँदै संविधान, कानुन र जनहितलाई सर्वोपरि राख्नुपर्ने धारणा व्यक्त गरिन्।
सामाजिक सञ्जालमार्फत उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको उल्लेख गर्दै साथ, सहयोग र समर्थनका लागि सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्।







