दुई तिहाईको डर नमान्नुस्, लडाइँ अझै बाँकी छ – प्रधान न्यायाधीश सपना मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि राजनीतिक प्रभाव, डर वा दबाबमा नपरी निष्पक्ष रूपमा न्याय सम्पादन गर्न निर्देशन दिएकी छन्।

७४औँ कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकार वा महाअभियोगको धम्कीले न्यायको मर्म मर्न दिनु नहुने बताएकी हुन्।

समारोहमा उपस्थित न्यायाधीशहरूलाई उच्च मनोबलका साथ काम गर्न हौसला दिँदै उनले भनिन्, “डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुईतिहाइ सरकारको डर होस् वा महाअभियोगको भय, न्यायाधीशहरू यी सबै संकुचित घेराबाट मुक्त हुनुपर्छ।”

उनले अदम्य साहसका साथ न्यायको मन्दिरलाई निष्पक्ष राख्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरिन्। न्यायपालिकाको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न न्यायाधीशहरूले निर्भीक भएर फैसला गर्नुपर्नेमा उनले जोड दिइन्।

राजनीतिक शक्ति सन्तुलन वा सरकारको बहुमतका आधारमा न्याय प्रभावित हुन नहुने उनको धारणा थियो। “न्यायकर्मीहरू कुनै पनि शक्तिसँग डराउनु पर्दैन, उनीहरूको कर्तव्य केवल संविधान र कानुनको रक्षा गर्नु हो,” उनले थपिन्।

आफ्नो व्यक्तिगत संघर्षको स्मरण गर्दै कामु प्रधानन्यायाधीश मल्लले आफू कानुन व्यवसायी भएदेखि नै विभेद र अन्यायका विरुद्ध लड्दै आएको बताइन्। “मैले जीवनभर अन्यायका विरुद्ध लडाइँ लडेँ, र त्यो लडाइँ अझै बाँकी छ,” उनले भनिन्, “सक्षम, स्वच्छ र सही न्यायका लागि म सधैँ प्रतिबद्ध रहनेछु।”

संविधानवाद, विधिको शासन र नागरिक हकको रक्षाका लागि नेपाल बार एसोसिएसन, आमसञ्चार माध्यम र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन्। न्यायपालिकाको स्वतन्त्रता जोगाउन सबै सरोकारवाला निकायहरूले एक भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

समारोहमा राष्ट्रपति र उपराष्ट्रपतिको उपस्थितिले राज्यका अङ्गहरूबीचको सुमधुर सम्बन्ध झल्किएको उनले बताइन्। कानुन दिवसमा राज्यका प्रमुख अङ्गहरू एकै ठाउँमा भेला हुने परम्पराले लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास थियो।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिसहित राज्यका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *