काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ ।
१५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट कम्पनीले २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणाली वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।






