काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी दिएको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ ।
त्यसैगरी, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ ।
आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागिभरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरेको छ।






