काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको छ।
सोमबारसम्म सिफारिस समितिको सचिवालयमा उक्त संख्यामा आवेदन दर्ता भएको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट संयोजकत्वको समितिले वैशाख १५ गते सात दिनको म्याद दिँदै आवेदन आह्वान गरेको थियो।
अध्यक्ष पदका लागि बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित पुँजीबजारसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूले आवेदन दिएका छन्।
राष्ट्र बैंकका पूर्वअधिकारी, मर्चेन्ट बैंक तथा अन्य वित्तीय संस्थामा काम गरेका व्यक्तिहरू पनि दौडमा रहेका छन्।
विगतमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने आलोचना हुँदै आएको पदमा यसपटक निष्पक्ष छनोट गर्ने सरकारको तयारी रहेको बताइएको छ।
अर्थ मन्त्रालयले छिट्टै उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।






