मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालय संख्या १७ मा झर्ने, केहीलाई नयाँ नाम दिने तयारी

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह ले बोलाएको बैठकले मन्त्रालय पुनर्संरचनासम्बन्धी महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ।

सरकारले हाल रहेका २१ मन्त्रालयलाई घटाएर १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ। यसअन्तर्गत केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ नाम दिने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने योजना छ।

खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइने प्रस्ताव छ भने युवा, महिला, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी निकायलाई समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने तयारी गरिएको छ।

खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधारमा गाभी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाउने तथा सरसफाइलाई स्वास्थ्य मन्त्रालयमा समायोजन गर्ने योजना छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने प्रस्ताव पनि गरिएको छ।

मन्त्रालय पुनर्संरचनासम्बन्धी खाका तयार पार्न गठन गरिएको कार्यदलले १७ मन्त्रालयको संरचना प्रस्ताव गरेको हो। सरकारले प्रशासनिक सुधारअन्तर्गत मन्त्रालय संख्या घटाउने नीति यसअघि नै सार्वजनिक गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *