काठमाडौं । भारत ले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा सम्बन्धमा पुरानै धारणा दोहोर्याएको छ ।
नेपाल ले आइतबार कूटनीतिक पत्र पठाएपछि भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै लिपुलेक मार्गबाट हुने यात्रा सन् १९५४ देखि सञ्चालनमा रहेको पुरानो मार्ग भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले उक्त मार्ग दशकौँदेखि प्रयोग हुँदै आएको र नयाँ नभएको बताएका छन् ।
उनका अनुसार भारतको धारणा यस विषयमा सधैं स्पष्ट र स्थिर रहेको छ । साथै, नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि भारत तयार रहेको जनाइएको छ ।
सीमासम्बन्धी बाँकी विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास पनि व्यक्त गरिएको छ ।
सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीपूर्व नेपालको भू–भाग रहेको नेपालले दाबी गर्दै आएको छ । तर भारतले उक्त दाबी अस्वीकार गर्दै आएको छ ।






