गण्डकी — स्वास्थ्य बिमा बोर्ड को गण्डकी प्रदेश कार्यालयले प्रदेश सरकारको अनुदानमा अपांगता भएका, मिर्गौलापीडित र द्वन्द्वपीडितसहित ७ हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको जनाएको छ ।
कार्यालयका संयोजक जीवलाल खरेल का अनुसार अपांगता भएका व्यक्तिका परिवार ५ हजार ९४६, मिर्गौलापीडितका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ जनाको बिमा गरिएको छ ।
यसबाहेक जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्की मा कार्यरत २११ पत्रकार पनि कार्यक्रममा समेटिएका छन् ।
प्रदेशमा हालसम्म ४ लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्, जुन कुल परिवार संख्याको ६७.०१ प्रतिशत हो ।
कुल १३ लाख ५६ हजार ६९८ जना बिमित रहेकोमा जनसंख्याको करिब ५५ प्रतिशत कभरेज पुगेको जनाइएको छ ।
बिमितमध्ये ७ लाख ३८ हजार २३२ जनाले सेवा लिएका छन्, जुन कुल बिमितको ५४.०४ प्रतिशत हो ।
बिमा नवीकरण गर्ने परिवारको संख्या ३ लाख ३५ हजार ५०५ रहेको छ, जसले ७५ प्रतिशत नवीकरण दर देखाएको छ ।
प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय छन् भने ४७ स्थानीय तहमा ६१ वटा स्वास्थ्य सेवा प्रदायक संस्था सूचीकृत छन् । तीमध्ये ५६ सरकारी, चार निजी र एक सामुदायिक संस्था रहेका छन् ।
७० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, अतिअशक्त र गरिब परिचयपत्र भएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा दिइँदै आएको छ ।
पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियममा एक लाख रुपैयाँसम्म उपचार सेवा पाउने व्यवस्था छ भने थप सदस्यका लागि प्रति सदस्य ७०० रुपैयाँ तिर्नुपर्ने प्रावधान छ ।
ठूलो परिवारले दुई लाख रुपैयाँसम्मको उपचार सेवा लिन सक्ने जनाइएको छ ।
बोर्डले तोकेका १ हजार २८८ प्रकारका औषधि तथा शल्यक्रियासहित जटिल रोगको उपचारसमेत बिमा अन्तर्गत उपलब्ध रहेको कार्यालयले जनाएको छ ।






