काठमाडौं । सिन्धुलीमा प्रहरी नियन्त्रणमा रहेका एक दलित युवाको मृत्युको घटनालाई लिएर दलित समुदायले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले पीडित परिवारलाई समय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले श्रीकृष्ण विश्वकर्माको मृत्यु सिन्धुलीको खुर्कोट प्रहरी चौकीमा शंकास्पद अवस्थामा भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। मृतकका आफन्तले न्यायका लागि प्रधानमन्त्रीलाई भेट्न खोज्दा पनि समय नपाएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजित श्रीपालीले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरे। गृह प्रशासनकै मातहतबाट बनेको छानबिन समितिले निष्पक्ष प्रतिवेदन नल्याउने आशंका व्यक्त गर्दै उनले घटनाको अनुसन्धान स्वतन्त्र निकायबाट हुनुपर्ने बताए।
प्रदर्शनकारीहरूले दलितमाथि हुने हत्या र हिंसाका घटनाको अन्त्य गर्न माग गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। न्याय नपाए आन्दोलन थप सशक्त बनाउने उनीहरूको चेतावनी छ।






