केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।

आइतबार काठमाडौँमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।

निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने– ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’

सोही क्रममा सभापति लामिछानेले केही व्यवसायीहरु तथा पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्नेगरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे ।

‘यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ, सरकारले अहिले यही गरेको हो,’ उनले भने, ‘धरपकडका विषयमा म तपाईहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ,’ उनले भने ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगी लगायतका कसुरमा केही उद्योगी व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ ।

सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रास्वपाले बनाइसकेको पनि जानकारी दिए ।
लामिछानेले समस्या सम्बोधनका लागि उद्योगी व्यवसायीहरुले आफ्नो घर र पार्टी कार्यालय धाउनैनपर्ने पनि स्पष्ट पारे । ‘तपाईंले मलाई, मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन–टेक्नुपर्दैन । हामी तपाईंहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं । पहिला तपाईंहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला । तर, हामी तपाईंहरुलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौं,’ उनले भने ।

सोही क्रममा सभापति लामिछानेले सरकारले कोही कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैंका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिमामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र पुनस्र्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबार बिहीन बनाउँदैन,’ उनले भने ।

त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजीक्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै निजी क्षत्रेलाई सहज रुपमा काम गर्न दिन आग्रह गरे ।

‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजीक्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो,’ उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे । आगामी बजेटमा यसबारेमा ध्यान दिन पनि उनले सुझाव दिए ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । निजीक्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा उद्योगीहरु हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, सशिकान्त अग्रवाल, बरुण चौधरी, लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *