हिमालयन रिइन्स्योरेन्ससँगै ८ कम्पनीका संस्थापकलाई पैसा बुझाएको विवरण पेस गर्न १५ दिने अल्टिमेटम

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा बीमा कम्पनीको लगानीमाथि अनुसन्धान सुरु गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीका संस्थापक शेयरधनीहरूलाई शेयर खरिद गर्दा भुक्तानी गरिएको रकमको विस्तृत विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो।

अनुसन्धानको दायरामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँगै ७ वटा माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन्। तीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स समावेश छन्।

विभागका अनुसार यी कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट सञ्चालन अनुमति (लाइसेन्स) प्राप्त गर्ने क्रममा आर्थिक अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।

संस्थापक शेयरधनीहरूले चुक्ता पुँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) विभिन्न व्यक्ति तथा संस्थाका बैंक खातामा जम्मा गरेको सूचना प्राप्त भएपछि त्यसको स्रोत र विवरण खुलाउन भनिएको विभागले जनाएको छ।

विभागको सूचनामा संस्थापक लगानीकर्ताहरूलाई ‘चुक्ता पुँजीबाहेक प्रिमियमबापत बुझाएको रकम कसको नाममा, कुन बैंक खातामा र कुन वित्तीय संस्थामार्फत जम्मा गरिएको हो भन्ने स्पष्ट विवरण प्रमाणसहित पेश गर्न’ निर्देशन दिइएको छ।

 

reinsurance--1777533445.JPG
 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *