काठमाडौं ।ग्लोबल आइएमई बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले नौ महिनामा ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा पनि घटेको छ । चालु आवको नौ महिनामा सञ्चालन नाफा ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यसरी सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेको हो ।
बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ । जगेडा कोष भने २४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा सीमित भएको छ ।
विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ पुगेको छ ।






