प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको जिम्मा भारतलाई दिने तयारी भइरहेको बताएका छन्। स्थानीय तहको चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको बताए।
बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा त्यससम्बन्धमा थप कुरा हुने देउवाको भनाइ छ। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउँदा भारतीय कम्पनीसँग पश्चिम सेती निर्माणबारे सम्झौता हुनसक्ने देउवाको भनाइ छ।
परियोजना निर्माणका लागि सन् २००३ मै भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशनसँग सम्झौता भएको थियो। उक्त कम्पनीले काम अगाडि बढाउन नसकेपछि २०६८ सालमा सरकारले ठेक्का तोडेको थियो। त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग परियोजना अगाडि बढाउन सम्झौता भएको थियो । हाल उक्त कम्पनीले पनि काम अगाडि बढाउन नसक्दा परियोजना अलपत्र अवस्थामा छ।
पश्चिम सेती परियोजना आन्तरिक लगानीमा निर्माण गर्न नसकिने र चिनियाँ कम्पनीले बनाउँदा भारतले बिजुली नकिन्ने भएकाले भारतलाई नै निर्माणको जिम्मा दिने गरी छलफल भइरहेको देउवाको भनाइ छ। सन् १९८१ मै अध्ययन सुरु गरिएको पश्चिम सेती परियोजनाको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन।
पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो। त्यस्तै बुढी गंगा र पश्चिमसेतीको तल्लो भाग एसआर–६ भने ३०८ मेगावाट क्षमताको रहेको छ।







