काठमाडौं: माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले यही वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ।
उक्त शेयरमध्ये ३ लाख ४४ हजार कित्ता शेयर अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा बैशाख ३१ गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ।
सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
Artha Sanjal






