झापा । भारतको पश्चिम बङ्गाल मा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
दार्जिलिङ जिल्ला प्रशासनले सोमबार साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म काँकरभिट्टा–पानीटङ्की नाका बाट मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ ।
वैशाख १० गते पश्चिम बङ्गालमा मतदान हुँदैछ । यसअघि पनि नेपाल–भारत दुवैतर्फ चुनावअघि सहमतिमा सीमामा आवागमन बन्द गर्ने अभ्यास रहँदै आएको छ ।
‘बोर्डर सिल’ अवधिमा सर्वसाधारणको पैदल आवतजावत र सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिनेछ । तर उपचारका लागि बिरामी तथा अतिआवश्यक काममा जानेहरूलाई आवश्यक परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने प्रहरीको भनाइ छ ।
नेपाल र बङ्गलादेशका पर्यटकका हकमा भने आफ्नो मुलुक फर्किन आवश्यक कागजपत्र देखाएमा भारतीय प्रशासनले सहजीकरण गर्ने व्यवस्था गरिएको जनाइएको छ ।






