काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी गरिएको उक्त शेयरमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याइएको थियो।
यसअघि नै १० प्रतिशत (४ लाख २९ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कर्मचारीलाई बाँडफाँड गरिसकेपछि बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।
उक्त आईपीओमा सर्वसाधारणले वैशाख ३ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आज वैशाख ८ गते बैंकिङ समयपछि आवेदन लिने प्रक्रिया बन्द हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।






