काठमाडौं — युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कम्पनीले १ः१ अनुपातमा, अर्थात् शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
सभाबाट प्रस्ताव पारित भएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रक्रिया अघि बढाउने जनाएको छ।
कम्पनीले आफ्नो संरचनात्मक रूपान्तरण गर्दै ‘होल्डिङ कम्पनी’मा परिणत हुने निर्णयसमेत गरेको छ। यसअनुसार कम्पनीको नाम परिवर्तन गरी ‘युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड’ राख्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। नाम परिवर्तनसँगै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरिनेछ।
हकप्रदबाट संकलित रकम नयाँ आयोजनामा लगानी गर्ने योजना कम्पनीको छ। सभाले २३ मेगावाट क्षमताको ‘आयू मयू खोला’ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको छ। उक्त आयोजनाको निर्माण हाल २५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको र प्रति मेगावाट लागत करिब १७ देखि साढे १७ करोड रुपैयाँ रहने जानकारी दिइएको छ।
कम्पनी हाल पूर्ण रूपमा ऋणमुक्त रहेको जनाइएको छ। साथै, अब कम्पनीले दोस्रो बजारमा पनि लगानी गर्न पाउने गरी स्वीकृति प्राप्त गरेको छ।






