काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले २९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको छ।
मन्त्रालयअन्तर्गतका श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र तथा श्रम तथा रोजगार कार्यालयहरूले संयुक्त रूपमा अनुगमन गरेका हुन्।
विज्ञप्तिअनुसार मातहत कार्यालयबाट २२ र विभागबाट गठन भएका तीन टोलीमार्फत सात गरी २९ प्रतिष्ठानको निरीक्षण गरिएको हो।
सरकारी तथा निजी अस्पताललाई प्राथमिकतामा राख्दै श्रम ऐन र प्रचलित कानुनको पालना भए–नभएको विषयमा अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य अवस्था, बालश्रमको स्थिति, सामाजिक सुरक्षा कोष मा आबद्धता तथा श्रम अडिटको अवस्थाबारे मूल्याङ्कन गरिएको थियो।
मन्त्रालयका अनुसार केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, श्रम अडिट नियमित नभएको तथा सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको पाइएको छ।
त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ अनुसार तत्काल सुधार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।






