वाणिज्य बैंकमा बढ्यो खराब कर्जाको दबाब, कुन बैंकको अवस्था कस्तो?

काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब बढ्दै गएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ४.६० प्रतिशत थियो ।

अर्थतन्त्रमा आएको सुस्ती, व्यापार–व्यवसायमा कमी, कर्जाको माग घट्नु तथा ऋणीबाट समयमै साँवा–ब्याज असुल हुन नसक्दा बैंकहरूको कर्जा जोखिम बढेको हो । बैंकहरूले धितो लिलामीमार्फत कर्जा असुली गर्न खोजे पनि बजारमा पर्याप्त खरिदकर्ता नहुँदा समस्या थपिएको छ ।

एनपीएल सबैभन्दा बढी प्रभु बैंकको रहेको छ । २०८३ असारसम्म बैंकको निष्क्रिय कर्जा अनुपात १५.५५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७.०१ प्रतिशत थियो ।

एनआईसी एशिया बैंकको एनपीएल ९.२६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, हिमालयन बैंकको ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत पुगेको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको ६.६९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंकको एनपीएल ४.९६ प्रतिशत, एनएमबी बैंकको ४.८९ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत र कृषि विकास बैंकको ४.०७ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको ३.९८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत र सिद्धार्थ बैंकको ३.५३ प्रतिशत एनपीएल रहेको छ ।

केही बैंकले भने खराब कर्जा घटाउन सफल भएका छन् । नेपाल एसबीआई बैंकको एनपीएल ३.३५ प्रतिशतबाट २.९२ प्रतिशतमा र सानिमा बैंकको ३.०१ प्रतिशतबाट २.८७ प्रतिशतमा झरेको छ । नबिल बैंकको एनपीएल ४.४८ प्रतिशतबाट ४.२० प्रतिशत तथा नेपाल बैंकको ४.५६ प्रतिशतबाट ४.१८ प्रतिशतमा आएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल २.०३ प्रतिशत रहेको छ भने सबैभन्दा कम एनपीएल एभरेस्ट बैंकको ०.४९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *