काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनी उल्लेख्य सम्पत्ति भएका मन्त्रीका रूपमा देखिएका छन्।
सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरी क्षेत्रमा उनका बुवाको नाममा रहेको ३ रोपनी जग्गा उल्लेख गरिएको छ। उक्त जग्गा पहिले करिब २० लाख रुपैयाँमा खरिद गरिएको भए पनि हाल यसको मूल्य झण्डै ९ करोड ६० लाख रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ।
त्यसैगरी, काभ्रेको धुलिखेलस्थित भिल्लासहित उनको अचल सम्पत्तिको कुल मूल्य करिब १९ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ। धुलिखेलमा रहेको भिल्ला सम्बन्धी विषय पहिले पनि चर्चामा आएको थियो। उक्त सम्पत्ति ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख भए पनि वास्तविक रूपमा भिल्ला नै रहेको बताइएको छ।
अर्थमन्त्री वाग्लेले आफ्नो विवरणमा ४५ तोला सुन रहेको पनि उल्लेख गरेका छन्। साथै, उनले ग्लोबल आईएमई बैंक बाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएको जानकारी दिएका छन्।
उनको नाममा विभिन्न बैंकहरूमा बचत पनि रहेको छ, जसमा सानिमा बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक मा गरी करिब १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।
यसका अतिरिक्त, उनले सांग्रिला विकास बैंक तथा अपरमादी हाइड्रोमा समेत शेयर लगानी रहेको विवरणमा उल्लेख गरेका छन्।






