काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूमध्ये १० वटा कम्पनी घाटामा गएका छन्। यस अवधिमा ७ वटा कम्पनी भने नाफामा देखिएका छन्।
समिक्षा अवधिमा नाफा कमाउने फाइनान्स कम्पनीहरूमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा देखिएको छ। मञ्जुश्री फाइनान्सले १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, खुद नाफाको हिसावले दोस्रो नम्बरमा रहेको आइसीएफसी फाइनान्सले ७ करोड ८४ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड, श्री फाइनान्सले २ करोड २० लाख, गुहेश्वरीले २ करोड १४ लाख, बेस्ट फाइनान्सले १ करोड २६ लाख र मल्टी प्रपोज फाइनान्सले १ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
चालु आर्थिक बर्षको आठ महिनामा १० वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन्। घाटामा देखिएका कम्पनीहरूमा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, गुडवील फाइनान्स, प्रोग्रेसीभ फाइनान्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, नेपाल शेयर मार्केट एण्ड फाइनान्स तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन्।
जसमध्ये नेपाल फाइनान्स कम्पनी लिमिटेड ८ करोड ८३ लाख रुपैयाँ घाटामा छ। त्यस्तै समृद्धि फाइनान्स ५ करोड ९ लाख रुपैयाँ घाटामा छ भने पोखरा फाइनान्स ४ करोड ३१ लाख, गुडवील फाइनान्स ३ करोड २५ लाख र प्रोग्रेसीभ फाइनान्स ३ करोड १५ लाख रुपैयाँले घाटामा रहेका छन्।






