इरानद्वारा कुवेतमा भीषण सैन्य हमला, ६३ जना घाइते, एकको निधन
काठमाडौं । इरानले कुवेतमाथि गरेको मिसाइल र ड्रोन हमलामा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको आक्रमणले विमानस्थलको संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ।
कुवेती अधिकारीहरूका अनुसार बुधबार बिहान भएको हमलापछि विमानस्थलका केही उडानहरू तत्काल स्थगित गरिएको थियो। आक्रमणका कारण विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको र यात्रु तथा कर्मचारीहरू प्रभावित भएका छन्।
घटनामा मृत्यु हुने व्यक्ति भारतीय नागरिक रहेको पुष्टि गरिएको छ। घाइतेमध्ये विमानस्थलका कर्मचारी, यात्रु तथा सर्वसाधारण रहेका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयले घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ।
इरानले उक्त हमला अमेरिकी सैन्य गतिविधिको प्रतिशोधस्वरूप गरेको दाबी गरेको छ। अमेरिकी सेनाले यसअघि इरानसँग सम्बन्धित लक्ष्यहरूमा कारबाही गरेपछि इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ।
अमेरिकी सेनाले भने इरानद्वारा प्रहार गरिएका केही मिसाइलहरू लक्ष्यमा पुग्न नसकेको र केहीलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको जनाएको छ। बहराइनतर्फ प्रहार गरिएका मिसाइलहरू पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले रोकेको बताइएको छ।
आक्रमणपछि कुवेतले इरानको कडा निन्दा गर्दै कूटनीतिक विरोध जनाएको छ। क्षेत्रीय तनाव पुनः चुलिँदै गएपछि मध्यपूर्वको सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढेको छ।