भोजपुर । जिल्लाका ग्रामीण क्षेत्रमा किसान यतिबेला चैतेधान रोपाइँमा व्यस्त भएका छन्। तापक्रम बढेसँगै सिँचाइ सुविधा भएका फाँटमा रोपाइँको चटारो बढेको हो।
हतुवागढी, अरुण र षडानन्द नगरपालिका क्षेत्रमा किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन्। छोटो अवधिमा पाक्ने भएकाले चैतेधानबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिने किसानहरूको भनाइ छ।
फागुन अन्तिमदेखि चैतसम्म रोपिने चैतेधान असार अन्तिमदेखि साउन सुरुमा भित्र्याइने गरिन्छ। यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीमा टेवा पुगेको किसानले बताएका छन्।
यद्यपि सिँचाइ अभाव, मलखादको कमी र श्रमिक अभावले केही क्षेत्रमा रोपाइँ प्रभावित भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।
Artha Sanjal






