तेह्रथुम । फेदाप गाउँपालिका–१ स्थित पोक्लाबाङमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ। लोपोन्मुख सांस्कृतिक सामग्री संरक्षण गर्ने उद्देश्यले परम्परागत शैलीमा सङ्ग्रहालय निर्माण भइरहेको हो।
पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा निर्माण भइरहेको उक्त सङ्ग्रहालय झिङ्गटीको छानोयुक्त छधुरे शैलीमा बनाइएको छ। पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ को अगुवाइमा याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित पुराना सामग्री, ऐतिहासिक कागजात र युद्धकालीन हातहतियार सङ्कलन गरिनेछ।
सहरी विकास मन्त्रालयको करिब २ करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको भवन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। निर्माणपछि उक्त स्थल सांस्कृतिक संरक्षणसँगै पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।






