‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ : आकर्षक विज्ञापनभित्र लुकेको ‘हानिकारक तत्व’ को मिसावट

काठमाडौं । आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवा तथा बालबालिका पेय पदार्थको प्रयोग गर्ने गरेका छन्। तर, त्यसले स्वास्थ्यमा पार्ने असरबारे सचेत देखिँदैनन्।

यसैबीच ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ बजारमा आएको छ। आक्रामक विज्ञापनकै कारण  यसले छोटो समयमै उल्लेख्य रूपमा बिक्रीबितरण पनि गरेको देखिन्छ। तर, चिकित्सकहरूले यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। चिकित्सकहरूका अनुसार यस्ता पेयले मधुमेह, पाचनसम्बन्धी समस्या, मुटुरोग, मिर्गौलामा असर तथा हड्डी कमजोर बनाउने जोखिम बढाउँछ।

यस पेय पदार्थमा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप र एसिडिटी रेगुलेटर (E331, E330) जस्ता तत्व मिसाइएको पाइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउँछ। साथै, E150D र E104 जस्ता कृत्रिम रङको प्रयोग गरिएको छ, जसले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। विशेषगरी E104 रङले बालबालिकामा चञ्चलता बढाउने र व्यवहारमा असर गर्ने खतरा रहेको चिकित्सकहरू बताउँछन्। यही कारणले कतिपय देशहरूले यस्तो रङको प्रयोगमा कडाइ गरेका छन्।

त्यसैगरी, यस्ता पेयमा क्याफिन, टाउरिन, विभिन्न फ्लेवर र प्रिजरभेटिभ्सजस्ता तत्व पनि मिसाइएका हुन्छन्। यस्ता तत्वले तत्काल ऊर्जा दिएको जस्तो महसुस गराए पनि दीर्घकालमा स्वास्थ्यमा हानिकारक असर पार्ने विज्ञहरूको भनाइ छ।

चिकित्सकहरूका अनुसार यस्ता इनर्जी ड्रिंक्समा प्रयोग हुने रसायनले मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्छ। क्याफिन र टाउरिनजस्ता तत्वले मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउने भएकाले बालबालिका र किशोरावस्थामा यसको असर झनै गम्भीर हुन सक्छ। नियमित सेवनले उनीहरूमा चिन्ता, चिडचिडापन, अत्यधिक उत्तेजना, आक्रामक व्यवहार, निद्रा समस्या, ध्यान केन्द्रित गर्न नसक्ने अवस्था, हातखुट्टा काँप्ने तथा टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्।

यसका साथै, यस्ता पेयले मुटुको चालमा असर पार्ने र बिस्तारै लत बस्ने जोखिमसमेत रहेको चिकित्सकहरूको भनाइ छ। क्षणिक ऊर्जा र स्वादका लागि प्रयोग गरिने यस्ता इनर्जी ड्रिंक्स, विशेषगरी ‘एक्सट्रिम’जस्ता कृत्रिम पेय पदार्थ, दीर्घकालीन रूपमा स्वास्थ्यका लागि जोखिमपूर्ण बन्न सक्ने देखिएको छ। त्यसैले यस्ता पेयको प्रयोगमा सावधानी अपनाउन र विशेषगरी बालबालिकालाई टाढा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।

यस इनर्जी ड्रिंक्समा मिसाइएको कृत्रिम वस्तुले मस्तिष्कलाई असर पार्ने डा. मनिष यादव बताउँछन । ‘यस्तो इनर्जी ड्रिंकमा हुने भनेको केमिकल मात्रै हो, त्यसमा पनि विशेष क्याफिन, टाउरिन र अरु केमिकल हुन्छ जसले ब्रेनमा स्टिमुलेन्टको काम गर्छ, जसले उत्तेजित पार्ने काम मात्र गर्दछ।’ उनले भने

डा. यादवका अनुसार यो क्याफिन अरु स्टिमुलेटिङ केमिकलहरू बच्चाहरूको बन्दै मस्तिष्कमा यसले विशेष किसिमको साइड इफेक्ट गराउँछ, यो केमिकलले बच्चाहरूको बन्दै गरेको मस्तिष्कलाई स्टिमुलेट गर्ने काम गर्छ।

त्यस्तो साइड इफेक्टको गम्भीर असर १८ वर्षभन्दा मुनिका सबैलाई हुने र कुनै समयमा यस्तो ड्रिंक्स बढी भयो भने मुटुको चालमा नै असर पुर्याउन समेत सक्ने उनको भनाई छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *