जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरि नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यस विषयमा सोमबार विस्तृत जानकारी सार्वजनिक हुने उनले बताए ।

त्यस्तै बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै युद्ध प्रभावित पश्चिमी एसियाली देश तथा ट्रान्जिटमा अलपत्र परेका नेपालीको उद्धार र राहतका लागि नेपाली राजदूतावास हरू (रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब) तथा नेपाली महावाणिज्य दूतावास (जेद्दा र दुबई) मार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ।

यसैगरी बैठकले हिमनदी क्षेत्रमा बाढी जोखिम न्यूनीकरण परियोजनाका लागि हरित जलवायु कोष बाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम मार्फत प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *