काठमाडौं। सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री–वितरण गर्न अनुमति दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ नेपाल राजपत्रमा प्रकाशित गर्दै उक्त व्यवस्था लागू गरेको हो।
आदेशअनुसार इथानोल उत्पादनका लागि चिनी उद्योगबाट निस्कने खुँदो, नेपियर घाँस, पराल, मकैको खोया, गहुँको छ्वाली तथा अन्य कृषि वा वनजन्य अवशेष प्रयोग गर्न सकिनेछ। तर खानेयोग्य खाद्यान्नबाट इथानोल उत्पादन गर्न भने कडा प्रतिबन्ध लगाइएको छ।
सरकारले इथानोल खरिद, बिक्री तथा वितरणको अधिकार नेपाल आयल निगमलाई दिएको छ। निगमले प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर प्रयोग गर्न सक्नेछ। साथै, इथानोलको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ र गुणस्तरहीन इथानोलको खरिद–बिक्री पूर्ण रूपमा रोकिएको छ।
यस्तै, इथानोल उत्पादन, भण्डारण, ढुवानी तथा पेट्रोलमा मिश्रणका लागि आवश्यक सुरक्षा मापदण्ड मन्त्रालयले जारी गर्ने जनाएको छ। आदेश कार्यान्वयनको निगरानी तथा मूल्य निर्धारणका लागि उच्चस्तरीय सिफारिस समिति गठन गरिने व्यवस्था पनि गरिएको छ।
सरकारले स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादनलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले यस्तो नीति ल्याएको जनाएको छ।






