काठमाडौँ — पछिल्लो एक महिनामा खानेतेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र ढुवानी अवरोधलाई कारण देखाउँदै व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म भाउ बढाएका छन्।
माघ अन्तिम सातातिर २५० देखि २७५ रुपैयाँ प्रतिलिटरमा पाइने सूर्यमुखी तेल फागुन मध्यसम्म आइपुग्दा २९० रुपैयाँभन्दा माथि पुगेको छ। यद्यपि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारभन्दा केही सस्तो दरमा भटमास तेल प्रतिलिटर २४०, सूर्यमुखी २७५ र तोरीको तेल २५५ देखि ३६० रुपैयाँसम्ममा बिक्री गरिरहेको जनाएको छ।
नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा अवरोधका कारण कच्चा तेल बोकेका जहाजहरू ढिलाइ हुँदा आपूर्ति प्रभावित भएको बताए। उनका अनुसार यसले ढुवानी लागतसमेत बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम तेल प्रतिटन ९५० देखि १ हजार डलर, सोयाबिन तेल ९८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल ९०० देखि ९५० डलर आसपास कारोबार भइरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघमा घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशतले बढेको छ।
बजारमा अस्वाभाविक मूल्यवृद्धिको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र पारेको छ। विभागका निर्देशक नरहरि तिवारीले बजारमा तेलको मौज्दात पर्याप्त रहेको दाबी गर्दै कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरेर मूल्य बढाउनेलाई कारबाही गरिने बताएका छन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघसम्म ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको खानेतेल आयात भएको छ। नेपालले भटमास तेल मुख्यतः अर्जेन्टिना, सूर्यमुखी तेल युक्रेन र अर्जेन्टिना तथा पाम तेल इन्डोनेसिया र मलेसियाबाट आयात गर्दै आएको छ।






