आजै समानुपातिक मतगणना सक्ने तयारी, राष्ट्रपतिलाई चैत पहिलो साता निर्वाचन विवरण बुझाइने

काठमाडौं। फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले आजसम्म सबै  परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ।

संखुवासभा, धनुषा निर्वाचन क्षेत्र १, गोरखा निर्वाचन क्षेत्र १ र २  लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको  आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

यी क्षेत्रमा मतगणना जारी रहेकाले आजसम्म समानुपातिकतर्फ सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनको भनाइ छ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी आयोगले गरेको हो।

प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ। प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार (महावीर पुन) सिटमा जितेका छन्।

आयोगले कानुनअनुसार मिले÷नमिलेको यकिन गरेर छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *