हारबाट नआत्तिऔँ, नेतृत्वले राजीनामा होइन रणनीतिक सुधारको बाटो रोज्नुपर्छ – काँग्रेस नेता केसी

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनमा हुने हार र जितलाई लोकतान्त्रिक प्रक्रियाको एक स्वाभाविक हिस्साको रूपमा स्विकार्न आग्रह गरेका छन्।

विश्व राजनीतिका प्रतिष्ठित नेताहरूको उदाहरण दिँदै उनले निर्वाचनमा पराजित हुनु मात्रै नेतृत्व असफल हुनु नभएको तर्क गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले दोस्रो विश्वयुद्ध जिताउने बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज एच. डब्लु. बुस र भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीसमेत चुनावमा पराजित भएको स्मरण गराएका छन्।

केसीले नेपालकै सन्दर्भमा २०४७ को संविधान निर्माण र ऐतिहासिक निर्वाचन सम्पन्न गराउने तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि २०४८ को निर्वाचन हारेको तथ्य प्रस्तुत गरेका छन्।

“लोकतन्त्रमा प्रतिष्ठित, लोकप्रिय वा शक्तिशाली नेताको पनि हार भएको छ, यो अस्वाभाविक घटना होइन,” उनले भनेका छन्। यस्ता हारहरूलाई नै मापदण्ड बनाएर पार्टी सुधारको संकल्प बोकेका मुख्य सारथीहरू जिम्मेवारीबाट पन्छिनु आम कार्यकर्ताको चाहना नरहेको उनको जिकिर छ।

नेतृत्व सम्हालेको छोटो अवधिमै वर्षौँदेखि थुप्रिएका विकृति र विसङ्गतिहरू जादुमयी शैलीमा समाधान हुन नसक्नु स्वाभाविक भएको नेता केसीको ठहर छ।

५० दिनको छोटो अवधिमा सबै समस्या समाधान नभएकै आधारमा निराश हुनु वा अलमलिनु नेतृत्वका लागि सुहाउने कुरा नभएको उनले उल्लेख गरेका छन्।

विरासतमा प्राप्त भएका खराबीहरूलाई आधार मानेर राजीनामा दिनु गम्भीर राजनीतिक भूल हुन सक्ने भन्दै उनले नेतृत्वलाई सचेत गराएका छन्।

नेता केसीले हतारमा कुनै पनि अप्रिय निर्णय नगर्न नेतृत्वलाई सुझाव दिएका छन्। विगतदेखि थुप्रिएका अपयश र विकृतिहरूको निर्मम विश्लेषण, समीक्षा र मूल्याङ्कन गर्दै आगामी दिनका लागि युद्धस्तरमा रणनीतिक तयारी गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *