म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् ।
स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे ।
पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो ।
पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए।
उनले जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएका छन् ।
स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्किएका हुन्।
निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए ।






