सुनिल शर्मामाथि अदृष्य सम्पतिको स्रोत र प्रमाणपत्र किर्तेमा अनुसन्धान, चुनाव जिते पनि पर्नेछन् कारबाहीमा

काठमाडौं। नोबेल मेडिकल कलेज संचालकको दम्भ देखाएर आफ्ना कर्तुत लुकाउन मोरङ बेलबारीका माओवादी कमान्डर राजेन्द्र न्यौपाने (सुनिल शर्मा) राजनीतिको फेरो समाउन २०७४ साल देखि देखि मात्र नेपाली कांग्रेसमा सक्रिय भएका हुन्।

निम्न मध्यम बर्गीय पारिवारिक पृष्ठभूमि भएका सुनिल राजनीतिमा समाजसेवी र मेडिकल कलेज संचालकमा राजनीतिज्ञको हैसियतले समाजमा भ्रम फैल्याउन सफल भएका बिबादस्पद पात्र हुन्। उनको भनाई एकातिर र गराई अर्को तिर हुने गरेको छ। उनी अघि र पछि युट्युवर बोकेर आफूलाई समाजसेवीको आबरण देखाउन नाबेल मेडिकल कलेजमा धेरै असहाय र आर्थिक अवस्था कमजोर भएकाहरुको उपचार गरेको रवाफ देखाउने गर्छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्वर३ का नागरिकलाई नागरिकता देखाएको आधारमा नोबेल मेडिकल कलेजमा अस्पतालको शैया निःशुल्क गरेको सन्देश प्रचार गर्ने गर्छन् । त्यो सुविधा कलेजले उदारतापूर्बक उपलब्ध नगराई कानुन बमोजिम १० प्रतिशत अस्पतालको शैया निःसहाय, असहाय व आर्थिक रुपमा विपन्न वर्गका लागि छुट्याउनै पर्छ। तर त्यही अस्पतालको बेड निःशुल्क गरेको भनी प्रचार गर्ने गरेका छन्।

उनले मोरङ ३ का वासिन्दालाई निशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरेका छन् । तर एम्वुलेन्स र वेडको रकम नोबेल मेडिकल कलेजले अनेकौं ल्याब टेष्ट र अनावश्यक औषधि खरिद गर्न लगाएर असुल्ने गरेको छ। त्यसैले हाल मोरङ ३ नम्वर क्षेत्रका वासिन्दा नोबेल मेडिकल कलेजको बेड र एम्वुलेन्सको निशुल्क सुविधाबाट तसर्ने गरेका छन्।

पेटमा समस्या भएको विरामी नोबेलमा भर्ना भए एक्सरे र सीटि स्क्यानदेखि अन्य दर्जनौं टेष्ट गर्न लगाएर हैरान पार्छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा बिराटनगरको कोशी अञ्चल अस्पतालमा करिव ५ हजारमा हुने सामान्य उपचार नोबेल मेडिकल कलेजले २० हजारको बिल थमाईदिन्छ। अनि छुट र निशुल्कको सिफारिस र हार गुहार गर्दा बेड र एम्वुलेन्स निशुल्क तथा ल्याबमा ५० प्रतिशत छुट, औषधिमा छुट हँदैन। यस्तो परिवन्दमा पर्ने विरामीहरु त्यसैले नोबेलमा जान डराउँछन्।

नोबेलको उपचार पद्धति र प्रणाली कस्तो छ भनेर थाहा पाउन धेरै सोध खोजको जरुरी छैन । त्यसका लागि कोभिड १९को बेला अस्पतालले विरामीसँग गरेको बार्गेनिङ, मेडिकल कलेजमा अध्ययरत विद्यार्थीबाट असुल गरेको अबैध रकम र औषधि विक्री बापत र आईसीयुबाट अकुत आम्दानी गर्न उपचारमा गरिएका लापरबाहीका घटना नै पर्याप्त छन् ।

कोरोना कालमा नोबेलको ‘लंका लुट’

वि.सं.२०७६ को पुसदेखि नेपालमा पनि कोरोना भाईरस संक्रमणको छिटफुट प्रभाव देखिन थाल्यो। सो वर्षको चैत ११ गतेदेखि त सरकारले लकडाउन नै गरेको थियो। सामान्य रुघा, खोकी र ज्वरो देखिए सर्बसाधरण नागरिक कोरोना भाईरसको संक्रमण हुने आशंकामा सतर्क हुन्थे र अस्पताल जाने गर्थे।
कोभिड –१९को संन्त्रासमा परेको समाज केही अस्पताललाई भने आम्दानी बृद्धि गर्ने अस्त्र भयो। यसै मेसोमा बिराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले पनि कोभिडका बिरामीको उपचारको नाममा सर्बसाधरणबाट रकम असुल्ने अवसरको रुपमा उपयोग गर्यो।

आर्थिक अवस्था कमजोर भएका कतिपय विरामीले नोबेलमा उपचार खर्च तीर्न नसकेर आत्महत्या पनि गरेका छन्। नोबेलले कोभिडका बिरामीलाई भर्ना गर्न मात्रै न्युनतम एक लाखदेखि तीन लाख रुपैयाँसम्म अग्रिम नगद लिने गरेको थियो।

अग्रिम एकदेखि तीन लाख रुपैयाँसम्म रकम जम्मा गर्न नसके भर्ना नै लिएन । २०७६साल चैत (मार्च ३१, २०२०) मा धनकुटाको महालक्ष्मी नगरपालिका –५ की ५२ वर्षिया नरदेबी गुरुङ उपचार नपाएर मृत्युवरण गर्नु पर्यो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपचार गर्न अन्यत्र लैजान रेफर गर्यो । त्यसपछि गुरुङलाई नोबेल मेडिकल कलेजमा लगिएको थियो। गुरुङलाई भर्ना गर्न इन्कार गर्यो, जसले गर्दा उनको मृत्यु भयो । यसरी अमानबिनय व्यवहार गर्ने अस्पतालका संचालक थिए, आफूलाई समाजसेवी भएको दाबी गर्ने सुनिल शर्मा।

मृतकलाई आईसीयुमा राखी ल्याब र औषधिबाट रकम

सुन्दा पनि पत्यार नलाग्ने, कुनै विरामीको मृत्युपछि पनि आईसीयुमा राखिन्छ? तर सुनिल शर्मा संचालक भएको नोबेल मेडिकल कलेजको हर्कत यस्तै छ। जसले सुनसरी जिल्लाको भोक्राहाका २५ वर्षे युवा नईम मन्सुरीलाई तीन दिनसम्म आईसीयूमा राखेर औषधि र ल्याबको समेत रकम असुल गरेको थियो।

घटना २०७६साल चैतको हो, फेबु्रअरी २४, २०२० मा अस्पताल भर्ना भएका मन्सुरीलाई नोबेलका चिकित्सकले पहिले ब्रेन हेमरेज भएको बताए। तर उनको आईसीयुमा उपचार हुँदैछ भनेर चिकित्सकले तीन दिनसम्म आईसीयुमा राखेर ल्याब परिक्षण र औषधि खरिद गर्न बिरामीकी श्रीमतिबाट रकम असुल गरियो।

बिरामीका आफन्तले विरामी भेट्न पाएनन्। तेश्रो दिन एक चिकित्सकले मन्सुरीको भर्ना भएकै दिन ‘डेथ’ भएको हैन र ? भनी प्रतिप्रश्न गरे। अनि आफन्तले सोधिखोजी गरेपछि आईसीयुका विरामीको भर्खर निधन भएको बताए। अनि तीन दिनअघि मृत्यु भएको भनिएका मन्सुरीका आफन्तबाट दुई लाख ९० हजार रुपैयाँ लिएर शब दिने काम गरियो।

नोबेलका चिकित्सको लापरवाहीले पोखरेलको मृत्यु

धेरैलाई अचम्म लाग्न सक्ला कतै चिकित्सकले पनि उपचारमा लापरबाही गर्छन? तर हो, नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा जति शंकास्पद र असभ्य छन्, त्यहाँ कार्यरत चिकित्सक पनि सुनिलभन्दा कम छैनन्। राजनीतिक शक्तिको आडमा कलेज संचालक भएका सुनिलको आड भरोसामा नाबेलका चिकित्सकले सामान्य चिकित्साको अनुशान पालना नगर्दा सुनसरी सदरमुकाम इनरुवाकी बिमला थापा पोखरेलले अनाहकमा ज्यान गुमाउनु पर्यो।

गत वर्ष माघ १० गते भर्ना भएकी विमलामा सामान्य स्वास्थ्यमा गडबडी भएपछि नोबेलमा भर्ना हुन्छिन । उनीलाई ढाड दुख्ने समस्या थियो। तर नोबेल मेडिकल कलेजको फोक्सो रोग विशेषज्ञ डा.रामहरि घिमिरे र रुपक केसीले उनलाई दुखाई कम गर्ने भनी ‘मोर्फिन’ नामक ५० एमजीको औषधि एक दिनमै तीन पटक सेवन गर्न लगाए।

फोक्सोमा समेत समस्या भएकी विमला थापा पोखरेललाई १५० एमजीको मोर्फिन एकै दिन दिएपछि उनको निधन भयो । यसरी चिकित्सकको लापरवाही, ओषधिको गलत प्रयोग र त्रृटिले गर्दा हिँडेर उपचार गर्न आईकी पोखरेलको मृत्यु भएको थियो।

उनका आफन्तले सामान्य चिकित्साको ज्ञान नभएर वा अनुसाशन पालना नगर्दा आफन्तको ज्यान गएको भन्दै जिल्ला अदालत मोरङमा २०८१ चैत २१ गते मुद्धा दर्ता भएको थियो । विमला थापा पोखरेलका पतिले चिकित्सकद्वय घिमिरे र केसीलाई कारबाही गरी पाँच करोड रुपैयाँ क्षतिपूर्ती दाबी गरिएको छ।

शक्ति र पदको आडमा शर्माले मृतकका पीडितलाई मुुद्धा दर्ता नगर्न धम्की दिएका थिए भने मिलापत्रका लागि प्रलोभन र आश्वासन समेत दिएका थिए।

नोबेलको अदृष्य लगानीः कर छली र गैरकानुनी आर्जन

नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माले कलेजको शेयर स्वामित्व कसरी र कोबाट हात पारे भन्ने विषय अझै रहस्यमय छ। उद्योग मन्त्रालय अन्तरगतको कम्पनि रजिष्ट्रारको कार्यालयले उनले कोबाट कति लगानी गरेर कहिले नाबेलको शेयर खरिद गरे भन्ने विषय खुलाउन सकेको छैन।

डर, धम्की, रवाफ, तिकडम र दबाबमा नोबेलको स्वामित्व कब्जा गरेका सुनिल शर्माले अस्पतालले विरामीलाई दुःख कष्ट हैरानी र नाजायज रकम असुल मात्र गरेको छैन कि मेडिकल कलेजका विद्यार्थीहरुबाट मापदण्ड विपरित शुल्क असुल गर्दै आएको छ।

२०७६ साल कात्तिकमा सम्पति शुद्धिकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजमा छापा हानेर महत्वपूर्ण कागजातहरु लिएर अनुसन्धान गरेको थियो। नोबेलका संचालक सुनिल शर्मा, तत्कालिन जनसम्पक अधिकृत नारायण दाहाल लगायत उच्च कर्मचारीहरुको तीन पुस्ते विवरण भरेर लगेको थियो।

संचालक र उच्च कर्मचारीमाथि विभागले कर छलि र गैरकानुनी आर्जन गरेको भनि प्रारम्भिक निष्कर्ष निकालेको थियो। नोबेलले चिकित्सा शास्त्रमा एमबीबीएस र अन्य विषयमा अध्ययनरत विद्यार्थीहरुबाट अबैध रुपमा अतिरिक्त रकम असुल गरेको थियो।

विभागले नोबेलले मात्रै विद्यार्थीबाट ३५ करोड ४७ लाख रुपैयाँ अतिरिक्त रकम असुल गरेको थियो। यसरी विद्यार्थीमाथि चरम आर्थिक शोषण गरेको विषय सार्वजनिक भए पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिएका थिए।

आफू अप्ठ्यारो पर्ने अवस्था देखेपछि शर्मा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट हुन थाले। उनी प्रधानमन्त्री ओलीको पक्षमा र कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा र पार्टीको तत्कालिन संस्थापन पक्षका नेता र सांसदबिरुद्ध बोल्न थालेका हुन्।

करछली र कीर्ते प्रमाणपत्रले कारबाहीमा पर्न सक्छन् शर्मा

चर्चित र बिबादस्पद पृष्ठभूमिका सुनिल शर्मा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङ –३बाट उम्मेदवार भएका छन्। उनी यो निर्वाचनमा कथम निर्वाचित भए भने उनीमाथि सम्पति शुद्धिकरण र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गरेको छानबिन बमोजिम मुद्धा दायर हुन सक्छ। यस्तो अवस्थामा शर्माको सांसद पद निलम्बनमा पर्ने देखिन्छ ।

शर्मामाथि नोबेल मेडिकल कलेज र काठमार्डौ मेडिकल कलेजको स्वामित्व ग्रहण गर्दा खरिद गर्ने सम्पतिको स्रोत रहस्यमय छ । उनले त्यो सम्पतिको स्रोत अझै देखाउन सकेका छ्रैनन् । त्यस्तै कलेजले मापदण्डविपरित विद्यार्थीहरुबाट असुल गरेको रकम करयोग्य भए पनि कर तिरेको छैन । यसमा पनि उनी छानबिनको दायरमा पर्ने देखिन्छ। कांग्रेस सभापति गगनकुमार थापाले पोखरामा यसैसाता आयोजित चुनावी सभालाई संवोधन गर्ने क्रममा २०४६ पछिका सबै प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पतिको छानबिन गर्ने प्रतिद्धतासहितको घोषणा गरेका छन्।

यदि कांग्रेस सत्तामा गएमा वा सत्ताको नेतृत्व गरेमा सुनिल शर्मा सांसद भए पनि नभए पनि उनीमाथि छानबिन हुने पक्का छ । अनि सही छानबिन भएमा उनी कारबाहीको दायरमा पर्ने निश्चित छ।

यतिमात्र होइन, सुनिल शर्माले एसएलसी (स्कुल लेभल सर्टिफिकेट), आईएससी, बीएससी र एमबीबीएस उतिर्ण गरेका शैक्षिक योग्यताका प्रमाणपत्रको सत्यापन हुन सकेको छैन । उनले कुन विद्यालय वा विश्वविद्यालयबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका हुन भन्ने प्रष्ट छैन ।

सुनिलले प्राप्त गरेको डाक्टरको उपाधि समेत कीर्ते भएको आशंकामा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानलाई निष्कर्षमा पुर्याउनेवित्तिकै उनले प्राप्त गरेको प्रमाण पत्र सक्किली कि कीर्ते (नक्कली) हो भन्ने स्पष्ट हुन्छ। तर, शर्मा ले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर कुनै सार्वजनिक सेवाबाट आम्दानी नगरेको भनी दाबी गरेका छन्।
तर, उनले आफूले प्राप्त गरेको डाक्टरको उपाधि गैरकानूनी वा कीर्ते ठहरिएमा समेत दोषीको भागिदार हुने देखिन्छ।

दर्जनौं लगानीकर्ताको सम्पति हडप्ने र विद्यार्थीबाट गैरकनुनी लाभ लिएर स्वास्थ्य सेवामा लापरवाही गर्ने शर्मामाथि राज्यको जुनसुकै निकायले जुनसुकै समयमा पनि नियन्त्रणमा लिएर कारबाही गर्न सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *