काठमाडौँ । निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध दायर गरेको गाली बेइज्यती मुद्दामा अदालतले उनको दाबी नपुग्ने ठहर गरेको छ।
रवि लामिछानेकी पत्नी पौडेलले करिब दुई वर्षअघि काठमाडौँ जिल्ला अदालतमा कान्तिपुर दैनिक, अनलाइनखबर, नागरिक दैनिक, उकेरा अनलाइन र जनआस्था साप्ताहिकसहित २९ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्।
काठमाडौँ महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा छापा मारेको विषयमा समाचार प्रकाशित गर्दा आफ्नो नाम जोडेर समाचार लेखिएको भन्दै पौडेलले गाली बेइज्जती भएको दाबी गर्दै ०८० चैत २३ गते मुद्दा हालेकी थिइन्।
समाचारमा ‘निकिता पौडेल आवद्ध रहेको सहकारीमा महानगरको छापा’ भन्ने विवरण प्रकाशित भएपछि आफूलाई अन्याय भएको र प्रतिष्ठामा आँच पुगेको भन्दै उनले अदालतमा उजुरी दिएकी थिइन्।
तर, विपक्षी सञ्चारमाध्यमहरूले भने उक्त सहकारीका अध्यक्ष भरत जंगम रहेको संस्थामा पौडेल यसअघि उपाध्यक्ष रहेकाले तथ्यका आधारमा समाचार लेखिएको जिकिर गरेका थिए।
सोही मुद्दामा सोमबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले पौडेलको दाबी नपुग्ने फैसला सुनाएको हो।
पौडेलले समाचार लेख्ने पत्रकारहरूलाई तीन वर्ष कैद, ३० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्तिवापत जनही एक करोड रुपैयाँसम्म हर्जाना भराउन माग गरेकी थिइन्।
अदालतले भने उनको माग दाबी पुष्टि नहुने ठहर गर्दै मुद्दा खारेज गरेको हो।






