काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई व्यवस्थित र सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार केही सवारीसाधनलाई छुट दिने सिफारिस गरेको जनाएको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनले पास लिनु पर्दैन।
त्यस्तै दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका सवारीसाधन तथा अस्पताल सेवाका लागि चिकित्सक र स्वास्थ्यकर्मी ओसारपसार गर्ने सवारीलाई पनि छुट दिइएको छ।
अन्तरराष्ट्रिय तथा आन्तरिक उडानका यात्रु ओसार्ने सवारीसाधन (विमानस्थल–घर/होटल) लाई समेत पास आवश्यक नपर्ने आयोगले जनाएको छ।
हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता र तिनका एक जना सहयोगी बोकेका सवारीसाधन पनि निर्वाध सञ्चालन गर्न पाइनेछ।
‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक सवारी, पर्यवेक्षक तथा राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारी र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई समेत सहज आवागमनको व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचन अवधिमा सवारी पास वितरणका लागि निर्वाचन आयोग परिसरमा एकीकृत सवारी आवागमन डेस्क स्थापना गरिएको छ।
उक्त डेस्कबाट काठमाडौं, भक्तपुर र ललितपुरका लागि आवश्यक सवारी पास जारी भइरहेको आयोगले जनाएको छ।






