मुस्ताङ — माइनस तापक्रमका बाबजुद हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ।
फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारले प्रचार अभियान तीव्र पारेका छन्।
अघिल्लो महिना माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो। हाल माथिल्लो भेगमा माइनस १० र तल्लो मुस्ताङमा करिब माइनस ३ डिग्री तापक्रम छ।
चिसो मौसमका बीच घाँसादेखि कोरला नाकासम्म चुनावी गतिविधि बढेको छ।
जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ दलमध्ये मुख्यतः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने आकलन छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले पनि चुनौती दिइरहेका छन्।
उम्मेदवारले कोरला नाका पूर्वाधार, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, सडक सञ्जाल विस्तार तथा जलवायु संकट न्यूनीकरणका एजेन्डा अघि सारेका छन्।
भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण तथा नापी छुटेका जग्गाको पुनः नापनक्सा गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
जाडो छल्न बेंसी झरेका मतदाता सबै फर्किन नसके पनि केही हिमाली भेगतर्फ उक्लिन थालेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कर्मचारी व्यवस्थापन, तालिम र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।






